

श्रेस्तेदारको भ्रमणले झापा जिल्ला अदालत अस्तब्यस्त

झापा – श्रेष्तेदार कार्यालयमा उपस्थित नहुँदा झापा जिल्ला अदालत अस्तब्यस्त बनेको छ । प्रशासनिक नेतृत्व सम्हालेका श्रेस्तेदार बीरेन्द्र बस्नेत कार्यालय नआउँदा महत्वपूर्ण कामकाज अलपत्र परेका छन । सामान्यतया जिल्ला अदालतको श्रेस्तेदारमा पेशी व्यवस्थापन देखि दैनिक प्रशासनको महत्वपूर्ण कार्यभारको क्षेत्राधिकार रहन्छ ।
सात जना जिल्ला न्यायाधीश रहेको झापा जिल्ला अदालतमा दैनिक पेशी व्यवस्थापन गर्ने गोला प्रणालीमा समेत शाखा अधिकृतको नेतृत्व देखेपछि न्यायाधीशहरुले १ नम्बरमा रहेका न्यायाधीश गिरीराज गौतमको ध्यानाकर्षण गराएको एक न्यायाधीशले जानकारी दिए ।
झापा जिल्ला अदालत काठमाडौं उपत्यकाका जिल्ला अदालतहरुपछि सबैभन्दा बढि मुद्दा रहेका अदालत मध्येको एक हो । श्रेस्तेदारलाई क्षेत्राधिकार हेरेर मुद्दा दर्ता गर्ने, कर्मचारी व्यवस्थापन गर्ने, खटनपटन गराउने र न्याय सम्पादनलाई सहयोग र समन्वयकारी भूमिका रहन्छ ।
तर आवश्यक समयमा श्रेस्तेदार नभएर शाखा अधिकृत कार्यबाहकको रुपमा आउने गरेको ति न्यायाधीशले नेपाल प्रेसलाई बताएका छन ।
झापा जिल्ला अदालतमा उपरजिष्ट्रार सरहको दरबन्दी छ ।
जुनियर उपसचिव भएपनि तीन महिना अगाडी सर्वोच्च अदालत प्रशासनले बस्नेतलाई झापा जिल्ला अदालतमा पठाएको थियो । बस्नेत मुद्दाका हिसाबले सबैभन्दा धरै कामको चाप भएको झापा जिल्ला अदालतमा पहुँचकै भरमा पुगेका थिए ।
सर्वोच्च अदालत प्रशासनलाई दबाबमै राखेर झापा पुगेपछि बस्नेत महिनामा मुस्किलले १ हप्ता मात्रै कार्यक्षेत्रमा बस्ने गरेको झापा जिल्ला अदालत स्रोतले बताएको छ । मुद्दामा धेरै चाप भएको झापा जिल्ला अदालतमा गत आर्थिक बर्षको तथ्याङ्लाई हेर्ने हो भने करिब ४१ सय मुद्दाको लगत देखिन्छ ।
यसमा जम्मा साढे १६ सय मुद्दाको फर्यौट भएको छ । यो जम्मा लगतको ४० प्रतिशत मात्रै हो । यसमा पनि महत्वपूर्ण मुद्दाको चाप भएको झापा जिल्ला अदालतमा स्रेस्तेदारको मनोमानी काठमाडौं भ्रमणले अस्तव्यस्त छ । यस बिषयमा जानकारी लिदा झापा जिल्ला अदालतका तहशिलदार गणेश पाण्डेले दाँतको उपचार गर्न काठमाडौं गएको जानकारी दिए ।
यो बिषयमा जिल्लाका १ नम्बर न्यायाधी गिरीराज गौतमलाई यो बिषयमा जानकारी भएपनि अधिकाश समय बिनाकाम काठमाडौंमा पठाउने गरेको बुझिएको छ । सामान्यतया १ हप्ताभन्दा बढि बिदा बस्न नपाईने भएपनि स्वास्थ्यको कारण देखाएर सर्वोच्च अदालतमै उपस्थित हुने गरेको अदालतका एक कर्मचारीले जानकारी दिए ।
यसैबीच विगत ६ महिनादेखि झापा जिल्ला अदालतमा बिचौलियाको बिगबिगी बढेको भन्दै केहि न्यायाधीशहरुले असन्तुष्टि जनाएका छन । न्यायाधीशहरुले अदालतमा अनियमितता बढेको भन्दै यसलाई रोक्न पहल गरिदिन नेपाल बार एशोसिएशन झापालाई आग्रह समेत गरेका थिए।
यस बिषयमा बारमा छलफल भएपनि यसलाई रोक्न पहल गर्ने जिल्ला अदालत बार एशोसिएशनले नै श्रेस्तेदारलाई भेटन नपाएको बारकै एक पदाधिकारीले बताए । यस बिषयमा बार र अदालतबीच बिगत लामो समयदेखि नै छलफल हुने गरेको भएपनि अदालत प्रशासनबाटै यसको निराकरणका लागि पहलकदमी लिनुपर्ने ती पदाधिकारीले बताए ।

