रुपन्देहीका स्थानीय तहमा जेष्ठ नागरिक लक्षित कार्यक्रम: मिलन केन्द्रदेखि स्वास्थ्य उपचारसम्म


बुटवल – रुपन्देहीका अधिकांश स्थानीय तहले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन्।

खासगरी जेष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्राम गृह, जेष्ठ नागरिक कल्याण कार्यक्रमसमेत आ–आफ्नो अनुकूलतामा बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएका छन्। त्यस्तै स्थानीय तहले जेष्ठ नागरिक परिचयपत्र पनि प्रदान गर्दै आएका छन्।

स्थानीय तहको सामाजिक विकास शाखाबाट प्रदान गरिने जेष्ठ नागरिक परिचयपत्र प्रदान गरेपछि सोही परिचयपत्रका आधारमा विभिन्न क्षेत्रमा छुट तथा आरक्षणको व्यवस्थासमेत गरिएको छ।

बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकका लागि घरघरमै गएर जेष्ठ नागरिक भत्ता प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

त्यस्तै जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई पनि अगाडि बढाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए।

सैनामैना नगरपालिका रुपन्देहीले भने जेष्ठ नागरिक ग्रामको परिकल्पनासहित काम अगाडि बढाएको छ। सैनामैनामा प्रदेशस्तरीय जेष्ठ नागरिक ग्राम तथा अपांगता नागरिक ग्राम निर्माण कार्य सुरु भएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए।

सिद्धार्थनगर नगरपालिकाले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। गत वर्षदेखि नै सुरु गरिएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए।

यसरी स्वास्थ्य परीक्षणका क्रममा केही समस्या देखिए निःशुल्क औषधिको समेत व्यवस्था गरिएको छ।

रुपन्देहीको सियारी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा जेष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत सहुलियतको व्यवस्था गरेको छ।

जेष्ठ नागरिक परिचयपत्रका आधारमा यस्तो सहुलियत प्रदान गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारुले बताए।

जिल्लाका शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिकालगायतका स्थानीय तहहरूले जेष्ठ नागरिक मिलन केन्द्रको योजना अगाडि सारेका छन्।

तिलोत्तमा नगरपालिकाले पनि जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्दैछ। तिलोत्तमा नगरपालिका–९ मंगलापुरमा झन्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यानसमेत निर्माण गरिने वासुदेव घिमिरेले बताए।

यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क निर्माण हुनेछन् । निर्माण हुन थालेको केन्द्र नजिकै ऐतिहासिक रामजानकी मन्दिर छ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भइरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्‍याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो।

प्रतिक्रिया